सर्लाही – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको लक्ष्यसहित इन्जिनियर दीपकुमार साहको नेतृत्वमा जनस्वराज पार्टी गठन गरिएको छ। असोज ३ र ४ गते जनकपुरमा सम्पन्न प्रशिक्षण कार्यक्रममा औपचारिक घोषणा गरिएको हो।
कार्यक्रमले साहलाई पार्टीको संयोजक चयन गर्दै प्रशिक्षण विभागको संयोजकमा इन्जिनियर दीप कुमार साह र आर्थिक विभागको संयोजकमा इन्जिनियर सुरेन्द्रनारायण यादवलाई जिम्मेवारी दिएको छ।

दुवै जना यसअघि जनमत पार्टीसँग आवद्ध रहेका थिए, साह राष्ट्रिय उपाध्यक्ष र यादव कोषाध्यक्षका रूपमा। नवगठित पार्टीले कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई आफ्नो मूल एजेन्डा बनाएको छ।
साथै, बेथिति र भ्रष्टाचार अन्त्य गर्दै पारदर्शी र जवाफदेही राजनीतिक संस्कृतिको स्थापना गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गर्ने तथा मुलुकको आवश्यकता अनुरूप पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने योजना प्रस्तुत गरेको छ।





