सर्लाही – आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज औँसी तिथिमा पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन हुँदैछ। सोह्र दिनसम्म चल्ने यो श्राद्ध पक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ।
शास्त्रअनुसार पितृपक्षमा दिवङ्गत पितृलाई श्रद्धापूर्वक सम्झेर विधिपूर्वक श्राद्ध गर्नुपर्ने मान्यता छ। कुनै कारणले अन्य दिन श्राद्ध गर्न नसकिएकाले आजको औँसीलाई विशेष दिनका रूपमा लिइन्छ।

धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार आज पनि गर्न नसक्ने अवस्थामा आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म, नभए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजासम्म श्राद्ध गर्न सकिन्छ। अझ ढिलो भए वृश्चिक सङ्क्रान्तिसम्म पनि विकल्प खुला रहेको उल्लेख छ।
श्राद्ध नगरे अक्षम्य दोष लाग्ने शास्त्रीय वचन छ। त्यसैले भक्तजनले सम्भव भएसम्म सोह्रश्राद्धमा तर्पण र पिण्डदान गरी पितृलाई तृप्त पार्ने चलन छ। श्राद्ध नगरे पितृ असन्तुष्ट भई श्राप दिन्छन् भन्ने मान्यता धर्मग्रन्थहरूमा पाइन्छ।
गोकर्णेश्वर, बेत्रावती, देवघाट, त्रिवेणीलगायत देशभरका प्रमुख तीर्थस्थलमा आज पितृप्रति श्रद्धा अर्पण गर्नेको भीड लागेको छ। श्राद्ध विधिबाट पितृ ऋण मुक्त भइने तथा जीवनमा मंगलमय फल प्राप्त हुने धार्मिक विश्वास छ।
पितृपक्ष सकिएसँगै दुर्गापक्ष अर्थात् बडादसैँ सुरु हुने परम्परा छ। यस वर्ष असोज ६ गते सोमबार घटस्थापना हुँदै दुर्गापक्षको थालनी हुनेछ।





