सर्लाही – रौतहट प्रहरीले सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणको गाँजा बरामद गरेको छ। भारततर्फ तस्करी गर्ने उद्देश्यले काउलीको बोरा मुनि लुकाइएको ३३४ किलो गाँजा प्रहरीले पिकअप भ्यानसहित नियन्त्रणमा लिएको हो।
जिल्लाको ईशनाथ नगरपालिका – ८ मोतीपुर हुँदै सीमातर्फ गइरहेको प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको पिकअप भ्यानलाई बुधबार साँझ करिब ८ बजे प्रहरी गस्ती टोलीले रोकेर चेकजाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए।

रामपुर प्रहरी चौकी प्रमुख असई अमोद साफीको नेतृत्वमा खटिएको टोलीले भ्यानको माथिल्लो भागमा करिब २० बोरा काउली राखिएको देखे। तर तलको भाग जाँच गर्दा २६ पोका गाँजा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरी देख्नेबित्तिकै चालक भने फरार भएको र हाल उनीसहित अन्य संलग्न व्यक्तिको खोजी तीव्र पारिएको कार्कीले बताए। गाडी भने नियन्त्रणमा लिइएको छ।





