
सर्लाही – पर्सा जिल्लामा हैजाको जोखिम फेरि बढ्दै गएको छ। केही हप्ता शान्त देखिएको संक्रमण शनिबारदेखि पुनः तीव्र बन्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार वीरगञ्ज महानगरपालिका र पोखरिया नगरपालिकामा मात्र शनिबार २७ जना नयाँ बिरामी भेटिएका छन्। तीमध्ये ४ जनामा हैजा पुष्टि भइसकेको छ।
महिना दिनअघि महामारीको रूपमा फैलिएको हैजा क्रमशः नियन्त्रणतर्फ गएको देखिएको थियो। तर पछिल्लो दिनमा अस्पतालमा भर्ना हुनेको संख्या फेरि बढ्न थालेको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए। गत एक महिनामा मात्रै पर्सामा १ हजार ४५१ जना झाडापखाला र शंकास्पद हैजाका बिरामी अस्पताल भर्ना भएका थिए।

तीमध्ये १ हजार ४२१ जना उपचारपछि निको भइसकेका छन् भने हाल पनि ३० जना विभिन्न अस्पतालमा उपचाररत छन्। यस अवधिमा २३७ जनामा हैजा पुष्टि भएकोमा २३३ जना निको भइसकेका छन् र ४ जना अझै उपचारमा छन्। नारायणी अस्पतालका प्रवक्ता उदयनारायण सिंहका अनुसार सुरुमा सबैले खानेपानी र सरसफाइमा सावधानी अपनाए पनि पछिल्लो समय लापरबाही बढेका कारण संक्रमण पुनः फैलिन थालेको हो।
“संक्रमण कम हुँदै जाँदा जनतामा सतर्कता हरायो, त्यसकै परिणाम अहिले देखिएको हो,” उनले भने। भदौ ६ गते वीरगञ्ज–१२ मुरलीमा पहिलोपटक हैजा देखिएको थियो। पानीको अभावका कारण प्रयोगमा आएको सरकारी वितरण प्रणाली र डीप बोरिङको दूषित पानी मुख्य कारण भएको चिकित्सकहरूको भनाइ छ। तर आधिकारिक रूपमा हैजा कहाँबाट फैलियो भन्ने स्रोत अझै स्पष्ट हुन सकेको छैन।