सर्लाही – भारतीय सिमा क्षेत्रमा पर्ने सर्लाहीको पर्सा गाउँपालिका–४ का वडाध्यक्ष सुवोध राय यादवलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गरी थप अनुसन्धान अघि बढाईएको छ।
उनलाई झूटा विवरण र सिफारिसका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने कार्यमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि १५ दिनको म्याद थप गरिएको हो।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको चलानी नम्बर ११२९१ मिति २०८१ असार ३ गतेको पत्र अनुसार चार जना व्यक्तिहरूले झूटा विवरण र वतन पेश गरी वडाध्यक्ष यादवबाट सिफारिस र सनाखत गराएर नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा लिन खोजेको कसूरमा अनुसन्धान भइरहेको छ।
उक्त कसूर दर्ता किताबमा मुद्दा दर्ता भई अनुसन्धानको क्रममा वडाध्यक्ष यादवलाई आज (आईतबार) पक्राउ गरिएको हो। सर्लाही जिल्ला अदालतबाट १५ दिनको म्याद थपको अनुमति प्राप्त भएसँगै प्रहरीले आवश्यक अनुसन्धानलाई तीव्रता दिएको छ।
वडाध्यक्ष यादवमाथि सिफारिस र सनाखतको दुरुपयोग गरी गैरकानुनी रूपमा नागरिकता प्रदान गर्ने कार्यमा संलग्न भएको आरोप छ। अनुसन्धानले यो प्रकरणमा थप तथ्यहरू बाहिर ल्याउने अपेक्षा गरिएको छ।





