सर्लाही – नेपालीहरूको महान् पर्व बडादशैं आज घटस्थापनासँगै सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि शुक्ल पूर्णिमासम्म १५ दिनसम्म धुमधामका साथ मनाइने यो पर्व घरघरमा विधिपूर्वक पूजा आरम्भ गरेर सुरु हुन्छ ।
बडादशैंको पहिलो दिन बिहानै नित्यकर्म सकेर मानिसहरू नजिकैको नदी वा चोखो स्थानबाट बालुवा वा माटो ल्याउँछन् । त्यसलाई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दसैं घरमा राखी वैदिक विधिअनुसार कलश, दियो र गणेश स्थापनासहित देवी दुर्गाको आह्वान गरिन्छ । त्यसपछि जमरा राख्ने प्रथा अनुसार यव (जौ) रोपिन्छ ।

देवी दुर्गाको प्रिय वस्तु मानिने जमरालाई विजयादशमीको दिन टीका–प्रसादसहित ग्रहण गरिन्छ । धर्मशास्त्रविद्हरूका अनुसार जमरामा जौबाहेक अन्य अन्न प्रयोग गर्ने प्रचलन छैन । तर कतिपय परिवारहरूले कूल परम्पराअनुसार अन्य अन्न पनि मिसाएर रोप्ने गरेका छन् ।
आयुर्वेदिक दृष्टिले जमरालाई औषधीय महत्वसहित प्रयोग गर्ने परम्परा पनि छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको उत्तम साइत बिहान ९ बजेर १३ मिनेटमा परेको छ । समितिले अन्य प्रमुख तिथिहरू पनि सार्वजनिक गरेको छ ।
असोज १३ गते सोमबार बिहान ७:१७ बजे फूलपाती, असोज १४ गते मंगलबार महाष्टमी र कालरात्रि, असोज १५ गते बुधबार बिहान ९:२३ बजे महानवमी स्थिरासन तोकिएको छ । यसैगरी विजयादशमी अर्थात् टीका असोज १६ गते बिहीबार बिहान ९ बजेर २३ मिनेटमा लगाइने साइत रहेको समितिले जनाएको छ।
आजको घटस्थापनासँगै मुलुकभरका घरघरमा बडादशैंको उमंग सुरु भएको छ । बजारमा चहलपहल बढेको छ भने देवी मन्दिरहरूमा भक्तजनहरूको भीड लाग्न थालेको छ । पन्ध्र दिनसम्म मनाइने यस पर्वलाई परिवार र आफन्तबीचको मिलन, श्रद्धा र समृद्धिको प्रतीकका रूपमा लिइन्छ ।





