जसपाको चेतावनी: नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गरे कारबाही हुन्छ

२०८२ आश्विन ६, सोमबार १४:४४
file image

सर्लाही – जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध सामाजिक सञ्जालमा लेख्ने कार्यकर्तालाई कडा चेतावनी दिएको छ।

सोमबार सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि महासचिव लालबाबु राउतले जारी गरेको विज्ञप्तिमा पार्टीभित्र शुद्धीकरण, सुदृढीकरण र अनुशासनलाई कडाइका साथ लागू गर्ने निर्णय सार्वजनिक गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “विगतमा पार्टीविरुद्ध आन्तरिक तथा बाह्य षड्यन्त्र, चलखेल र विखण्डन गराउने प्रयास भएका छन्। ती घटनाको अध्ययन र मूल्याङ्कन गरी भविष्यमा सम्भावित संकटबाट जोगाउन सम्पूर्ण सदस्य सतर्क रहनुपर्छ। रोगको निदान समयमा गर्नुपर्छ।”

राउतले सामाजिक सञ्जालमार्फत पार्टी वा नेतृत्वविरुद्ध नकारात्मक प्रचार गर्ने, गुटबन्दी बढाउने, भ्रम सिर्जना गर्ने तथा विधान विपरीत गतिविधि गर्ने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिए।

पार्टीले बाह्य शक्तिसँग साँठगाँठ गरी संगठन कमजोर पार्ने, व्यक्तिगत स्वार्थका लागि काम गर्ने, आन्तरिक द्वन्द्व उत्पन्न गर्ने प्रवृत्तिबाट सचेत रहन सबैलाई आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “पार्टीलाई हानी पुर्‍याउने असमाजिक गतिविधि वा प्रवृत्तिको विरुद्ध सधैं चनाखो हुनुपर्छ।”

बैठकले समान विचार, सिद्धान्त र मुद्दा मिल्ने दलसँग पार्टी एकता गर्ने र विचार–सिद्धान्त नमिले पनि मुद्दा मिल्ने दलसँग संयुक्त मोर्चा बनाएर सहकार्य गर्ने नीतिगत निर्णय पनि गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार