सर्लाही – पाकिस्तानी सेनाले आफ्नै नागरिकमाथि प्राणघातक हवाई आक्रमण गरेको खुलासा भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार मध्यरात करिब २ बजे खैबर पख्तुनख्वा प्रान्त अन्तर्गत तिराह उपत्यकाको मात्रे दारा गाउँलाई पाकिस्तानी वायुसेनाले जेएफ–१७ लडाकु विमान प्रयोग गरी आक्रमण गरेको हो।

आक्रमणमा ८ वटा एलएस–६ बम प्रयोग गरिएको बताइएको छ, जसका कारण ३० जना सर्वसाधारणको मृत्यु भएको छ। मृत्यु हुने मध्ये महिला र बालबालिका धेरै रहेको र २० भन्दा बढी घाइते भएको पुष्टि भएको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार आक्रमणका बेला गाउँका अधिकांश बासिन्दा निद्रामा थिए। अकस्मात भएको शक्तिशाली विस्फोटले धेरै घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने सडक समेत भत्किएकाले उद्धार र राहत कार्यमा ठूलो चुनौती थपिएको छ।
बम वर्षासँगै गाउँको ठूलो भाग ध्वस्त हुँदा मानवीय संकट थपिएको छ। तर पाकिस्तानी सरकारले आक्रमणबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।





