सर्लाही – जेन–जी आन्दोलन तीव्र बन्दै गएको समयमा काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा आगजनी गरेको अभियोगमा सर्लाहीका एकसहित मधेसका ६ जना युवा पक्राउ परेका छन्।
भदौ २४ गतेको प्रदर्शन उग्र बनेपछि नयाँ बानेश्वरस्थित प्रहरी वृत्त, कोटेश्वर प्रहरी प्रभाग र नरेफाँट प्रहरी युनिटमा उच्छृङ्खल समूहले आगजनी गरेको घटनामा संलग्न भएको आरोपमा उनीहरू पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

पक्राउ पर्नेमा रौतहटका १९ वर्षीय अंशु कुमार गुप्ता, सप्तरीका २८ वर्षीय देवराज राय ‘रवि’, सर्लाहीका १८ वर्षीय मुकेश शाह ‘अजय’, धनुषाका १९ वर्षीय अजय कुमार शाह ‘हिरो’, रौतहटका २४ वर्षीय लक्किबाबु जैसवाल र सोही जिल्लाको गरुडा घर भएका १८ वर्षीय शैरव यादव ‘मोटे’ रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकाबाट आगजनीपछि लुटिएको ग्यास सिलिन्डर र खोका समेत बरामद गरिएको छ। उनीहरू कुनै राजनीतिक दलसँग आबद्ध नभएको र अधिकांश विद्यार्थी पृष्ठभूमिका रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।





