जेन-जी आन्दोलन: बिरगंजमा नेपाली कांग्रेसका नेताको घरमा काम गर्ने महिलाको आगोमा जलेर मृत्यु

२०८२ आश्विन ७, मंगलवार ११:३९

सर्लाही – जेनजी आन्दोलनका क्रममा आगलागीमा गम्भीर घाइते भएकी पर्सा सखुवा प्रसौनी–२ की ४५ वर्षीया सोशीलादेवी हजारा उपचारकै क्रममा मृत्यु भएको छ।

भदौ २४ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगन्ज –१३ स्थित निवासमा अराजक समूहले गरेको तोडफोड र आगजनीमा परेकी घरेलु कामदार हजारा कीर्तिपुर बर्न अस्पतालमा उपचाररत रहँदा सोमबार बिहान १०:२२ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

उक्त घटनामा रुंगटाको घरसमेत रहेको चारवटा भवनमा लुटपाटपछि आगजनी गरिएको थियो। आगलागीका बेला तेस्रो तल्लामा फसेकी हजारा र अर्का एक युवकलाई वारुण यन्त्रको भर्‍याङमार्फत उद्धार गरिएको थियो।

गम्भीर रूपमा जलेकी हजरालाई प्रारम्भमा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिए पनि अवस्था सुधार नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं पुर्याइएको थियो।

यसै आगलागीमा भारतको बिहार सुगौलीका १८ वर्षीय विनय यादव पनि गम्भीर घाइते भएका थिए। यादव अहिले कीर्तिपुर बर्न अस्पतालमै उपचाररत छन् र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार