सर्लाही – मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफू आजीवन पदासीन हुने आकांक्षाले नभई सङ्घीयता जोगाउने जिम्मेवारीसहित नेतृत्व गरिरहेको स्पष्ट पारेका छन् । प्रदेशसभाको आइतबार बसेको बैठकमा बोल्दै मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत प्रसारित राजीनामाबारे प्रष्टिकरणसमेत दिएका थिए ।
“सङ्घीयता जलिरहेको बेलामा म भाग्ने मान्छे होइन,” उनले भने, “त्यस बेला सामाजिक सञ्जालमा राजीनामाको कुरा गरिएको थियो । तर, संवैधानिक रूपमा प्रदेश प्रमुखलाई बुझाएपछि मात्र राजीनामा मान्य हुन्छ । अहिलेको आवश्यकता भनेको सबै एकजुट भई सङ्घीयतालाई जोगाउनु हो ।”

मुख्यमन्त्री सिंहले आवश्यक परे आफूले मार्ग प्रशस्त गर्न पछि नपर्ने पनि उल्लेख गरे । बैठकमा जनमत पार्टीका प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले मुख्यमन्त्री सिंहमाथि प्रहार गर्दै भने, “जब मान्छे आफ्नो दायित्व बिर्सन्छ, आन्दोलन उठ्छ ।
यस्ता पदमा बसेर जनताको विश्वास गुमाउने व्यक्तिलाई माता दुर्गाले सद्बुद्धि दिउन् ।” उनले विपक्षमा बसेर पनि संघीय लोकतान्त्रिक मूल्यको पक्षमा जनमत पार्टी जिम्मेवार रहने बताए । मधेस प्रदेशसभाको अर्को बैठक असोज ८ गते दिउँसो १ बजे बस्ने कार्यक्रम छ ।





