वीरगञ्ज नाकाबाट दुई महिनामै सात अर्बभन्दा बढीका सवारीसाधन आयात

२०८२ आश्विन ८, बुधबार ११:०३

सर्लाही – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज भन्सार नाकाबाट सवारीसाधन र पार्टपुर्जाको आयात उल्लेख्य मात्रामा बढेको छ। यस अवधिमा मात्रै सात अर्ब १६ लाख रुपैयाँ मूल्यका सवारीसाधन तथा पार्टपुर्जा नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा पाँच अर्ब २५ करोड रुपैयाँको मात्र आयात भएकोमा यस वर्ष त्यही अवधिभित्र झण्डै एक अर्ब ७५ करोड बढीको आयात भएको हो। कार्यालय प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार यस वर्षको आयात वृद्धि ‘उत्साहजनक’ देखिएको छ।

आयात वृद्धिसँगै राजस्व संकलनमा पनि वृद्धि भएको कार्यालयले जनाएको छ। गत वर्ष दुई महिनामा सवारीसाधन आयातबाट चार अर्ब ४७ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष सोही अवधिभित्रै छ अर्ब १३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

भन्सार तथ्यांकअनुसार चालु आवको दुई महिनामा ४३ करोड ५२ लाख मूल्यका १७८ वटा जीप, कार र भ्यान आयात भएका छन्। यता गत वर्ष सोही अवधिमा ५१ करोड ६२ लाख मूल्यका २९५ वटा जीप, कार र भ्यान आयात भएका थिए।

मोटरसाइकल आयातमा भने उल्लेख्य वृद्धि भएको छ। चालु आवमा दुई अर्ब ७९ करोड रुपैयाँ मूल्यका २० हजार ६२० थान अनअसेम्बल्ड मोटरसाइकल भित्रिएका छन्। गत वर्ष सोही अवधिमा भने एक अर्ब ८५ करोड मूल्यका १४ हजार ७६६ थान मात्रै मोटरसाइकल आयात भएका थिए।

त्यस्तै, बस तथा ट्रकका लागि प्रयोग हुने ३१८ वटा चेसिस आयात भएको भन्सार कार्यालयले जनाएको छ। ती चेसिसको मूल्य करिब ६६ करोड ४३ लाख रुपैयाँ पुगेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार