सर्लाही – सर्लाहीको बाँके जंगल नजिक आज दिउँसो रात्रि बस र ट्रक आपसमा ठोक्किँदा सात जना यात्रु घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, ट्राफिक प्रहरी निरीक्षक रजोश घिमिरेका अनुसार काठमाडौंबाट विराटनगरतर्फ गइरहेको बागमती प्रदेश – ०१–००६ ख ६३०६ नम्बरको बस र महोत्तरीको बर्दिवासबाट चामल लिएर भैरहवातर्फ गइरहेको ना ६ ख २९२८ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा मोरङ र भारतका सात यात्रु घाइते भएका छन्। उनीहरूमा विराटनगर–४ की २९ वर्षीया सविक्षा राई, रंगेली–९ की ४० वर्षीया लालकुमारी श्रेष्ठ र उनकी छोरी १५ वर्षीया युनिष्का राउत, विराटनगर–३ की ३९ वर्षीया सविता रेग्मी र उनकी ८ वर्षीया छोरी प्रिसा भट्टराई, भारत बिहारका रामशरण मण्डल र सुन्दरहरैचा–९ का ५२ वर्षीय लोकबहादुर विक रहेका छन्।

प्रहरीका अनुसार एक जनाको उपचार लालबन्दीमा भइरहेको छ भने बाँकी छ जनाको उपचार बर्दिवासमा भैरहेको छ। दुर्घटनामा परेको बस केही दिनअघि मुग्लिन–नारायणगढ सडकखण्डमा तीन दिन जाममा अड्किएको थियो। त्यसपछि विराटनगरतर्फ गइरहेको क्रममा बाँके जंगलमा ट्रकसँग ठोक्किएको हो। बसमा ३९ जना यात्रु सवार थिए।
ठोक्किएपछि दुवै सवारी सडकको आ–आफ्नो किनारमा पल्टिएका थिए। त्यतिबेला वर्षा भइरहेकाले यात्रु र प्रहरीले घाइतेको उद्धार गरेका थिए। इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीका अनुसार घाइते भएका यात्रुहरूको सरसामान सुरक्षित राखिएको छ र आफन्त सम्पर्कमा आएपछि उनीहरूले धमाधम सामान बुझेर लगेका छन्। उनका अनुसार दुर्घटनामा परेका दुवै सवारी घटनास्थलमै रहेका छन् भने ट्रक चालक र उनका सहकर्मी भने सकुशल छन्।





