कानुनी प्रक्रिया पूरा नहुँदा सर्लाहीका आधा पालिकाको खाता सञ्चालनमा आएनन्

२०८२ आश्विन ९, बिहीबार १४:५७

सर्लाही – दशैं नजिकिँदै गर्दा सर्लाहीका कर्मचारी र सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही समस्यामा परेका छन्। जिल्लाका २० पालिकामध्ये १० पालिकाले अझै खाता सञ्चालन नगरेका कारण तलब तथा भत्ता निकासा हुन सकेको छैन।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका प्रमुख पुष्पप्रसाद गुरागाईंका अनुसार अहिलेसम्म लालबन्दी, बागमती, हरिपुर, गोडैता, बलरा नगरपालिका र धनकौल, रामनगर, कौडेना, ब्रह्मपुरी र चन्द्रनगर गाउँपालिकाले मात्र तलब र भत्ता निकासा गरेका छन्। बाँकी हरिपुर्वा, बरहथवा, कविलासी, ईश्वरपुर, मलंगवा, हरिवन नगरपालिका तथा विष्णु, बसबरिया, पर्सा र चक्रघट्टा गाउँपालिकाले अझै प्रक्रिया अघि बढाएका छैनन्।

गुरागाईंका अनुसार पालिकाको खाता सञ्चालन गर्न गाउँ/नगरसभा सम्पन्न गरी अघिल्लो वर्षको हिसाब किताब सूचीकृत गर्नुपर्ने कानुनी व्यवस्था छ। ती प्रक्रिया पुरा नगरेका पालिकासँग कार्यालयले सम्पर्क गर्न खोज्दा समेत समन्वय हुन सकेको छैन। “सम्पर्कमै नआएका पालिकाका कारण दशैंअघि तलब भत्ता जाने सम्भावना कम छ। हामी शनिबारसम्म पनि काम गर्ने तयारीमा छौँ, तर प्रक्रिया नै अघि नबढेपछि केही गर्न सकिँदैन,” गुरागाईंले भने।

जिल्लाका अधिकांश पालिकाले यो आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरिसके पनि खाता सञ्चालनमा ढिलाइ हुँदा कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीलाई दशैंमा घर खर्चमै समस्या पर्ने भएको छ। सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला पनि निराश भएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार