सर्लाही – नेपालमा छेपारोका दुई नयाँ प्रजाति फेला परेका छन्। संरक्षणकर्मीहरूको एक टोलीले मकवानपुर र सिन्धुलीमा यी प्रजाति पत्ता लगाएर वैज्ञानिक नामकरणसमेत गरेको हो।
वेन्ट–टोड गेक्को (Bent-toed Gecko) भनिने माउसुली परिवारमा पर्ने यी छेपारामध्ये मकवानपुरगढीमा फेला परेको प्रजातिलाई ‘मकवानपुरगढी वेन्ट–टोड गेक्को’ नाम दिइएको छ भने सिन्धुलीको हरिहरपुर क्षेत्रको चुरे पर्वतश्रृंखलामा भेटिएको प्रजातिलाई ‘चुरे वेन्ट–टोड गेक्को’ नाम दिइएको छ।

फेडेरेसन युनिभर्सिटी, अष्ट्रेलियामा छेपारोसम्बन्धी विद्यावारिधि गरिरहेका प्रमुख शोधकर्ता सन्तोष भट्टराईका अनुसार यी प्रजाति २०२४ को जुन–जुलाई महिनामा चुरे क्षेत्रको सर्वेक्षणका क्रममा भेटिएका हुन्। अनुसन्धानपछि यिनीहरू विश्वकै लागि नयाँ प्रजाति भएको पुष्टि भई हालै अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएको छ।
गेक्कोनिडे परिवारमा हालसम्म विश्वभर ३८० भन्दा बढी प्रजाति भेटिइसकेका छन्। नेपालमा यसअघि पाँच प्रजाति मात्रै फेला परेका थिए, जसको नामकरणमध्ये चार प्रजाति भट्टराईकै नेतृत्वमा भएको हो। यी दुई नयाँ प्रजाति थपिएसँगै नेपालमा गेक्को प्रजातिको संख्या सात पुगेको छ।
वरिष्ठ संरक्षणविद् करण शाहका अनुसार यो छेपारो किराफट्याङ्ग्रा खाने भएकाले जैविक प्रणाली सन्तुलनमा अत्यन्त उपयोगी छ। यसले खेतीबाली र लुगाफाटोलाई नोक्सान पुर्याउने किराहरू नियन्त्रण गर्ने मात्र होइन, अन्य जीवजन्तुको आहाराको महत्वपूर्ण हिस्सा पनि हो।
अनुसन्धान टोलीमा नेपालका सन्तोष भट्टराई, विवेक गौतम, विशाल न्यौपाने, भारतका अक्षय खान्देकर, तेजस ठाकरे, इशान अगर्वाल, अष्ट्रेलियाका आश ओल्सन, फिओना होगन र वेएन्डी राइट सहभागी थिए।
विशेषज्ञहरूले सरकार र सरोकारवालालाई अझै अध्ययन कम भएका सरीसृप तथा अन्य प्रजातिको खोज र संरक्षणमा प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।





