बडादशैंको पाँचौ दिन: आज स्कन्दमाताको विधिपूर्वक पूजा गरिँदै

२०८२ आश्विन १०, शुक्रबार ०६:११

सर्लाही – महान चाड बडादशैं अन्तर्गत नवरात्रको पाँचौँ दिन आज देवी स्कन्दमाताको पूजा अर्चना गरी मनाइँदै छ। आश्विन शुक्ल पञ्चमीका दिन हरेक वर्ष दुर्गा पक्षको पाँचौँ स्वरूप स्कन्दमातालाई विशेष विधिपूर्वक आराधना गर्ने परम्परा रहिआएको छ।

धार्मिक मान्यता अनुसार पार्वतीदेवीबाट जन्मेका सनतकुमारलाई ‘स्कन्द’ भनिएको र पार्वतीलाई त्यसकै आधारमा ‘स्कन्दमाता’ नाम दिइएको उल्लेख पाइन्छ। पुराणहरूमा वर्णन भएअनुसार स्कन्दमाता सिंहासनमा विराजमान भई दुवै हातमा कमलपुष्प धारण गर्नुभएको हुन्छ।

नवरात्रका नौ दिनभर घटस्थापनाको स्थलमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत लगायतका देवी स्तोत्र पाठ गर्ने चलन छ। भक्तजनले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वासका साथ देवीको पूजा आराधना गर्दछन्।

यही कारणले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गरिन्छ भने विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसाद ग्रहण गरी पर्व मनाउने परम्परा रहेको छ।

देशभरका विभिन्न शक्तिपीठ र मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनको भीड लाग्दै छ। स्कन्दमाताको कृपा प्राप्त गर्ने आशयले वैदिक सनातन धर्मावलम्बीहरू उत्साहका साथ पूजा अर्चनामा सहभागी भएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार