मधेसमा झिझियाको रौनक, दशैंसँगै गाउँ सहरमा सांस्कृतिक उल्लास

२०८२ आश्विन १०, शुक्रबार ०६:२४
फाईल फोटो

राजेन्द्र बिश्वकर्मा, सर्लाही – दशैं सुरु भएसँगै तराई मधेसका गाउँदेखि शहरसम्म झिझियाको रौनक छाएको छ। साँझ पर्न बित्तिकै गाउँघरभर झिझिया गीत घन्किन थाल्छ, महिलाहरूको समूह टाउकोमा माटोको घैँटो राखेर दुर्गा शक्तिपीठसम्म पुग्छन् र घण्टौँसम्म नृत्य गर्दै मनोरञ्जन गर्छन्।

झिझिया नृत्य मधेसको मौलिक लोकनृत्य हो। यसको तयारीका लागि महिलाहरूले माटोको घैँटामा मसिना प्वाल पार्छन्, घैँटाभित्र दियो बाल्छन् र कपडाले बेरेर बनाइएको गेरुलीमाथि राख्छन्। टाउकोमा राखिएको घैँटा भरी दीपको प्रकाशसँगै नाच्दा दृश्य नै मनमोहक देखिन्छ। शक्तिपीठहरूमा यो नृत्य हेर्न ठूलो भीड लाग्ने गरेको छ।

बुढापाकाहरू भन्छन् विगतमा झिझिया नृत्य अझ बढी भव्य र मौलिक हुन्थ्यो। पहिले महिला तथा किशोरीहरूले आफैं गीत गाउँदै नाच्ने प्रथा थियो। तर पछिल्लो समय डिजेको प्रयोग बढेपछि पुरानो शैली हराउँदै गएको छ। अहिले तयार पारिएका डिजे गीतमै झिझिया प्रस्तुत गरिन्छ।

झिझिया नृत्यको विशेष आकर्षण भनेको महिलाले टाउकोमा घैँटा बोकेर घण्टौँसम्म सन्तुलन मिलाउँदै नाच्ने कला हो। घैँटामा प्रज्ज्वलित दियोले नृत्यलाई अझै रमणीय बनाउँछ। परम्परागत विश्वास अनुसार घैँटामा पारिएका असंख्य प्वालहरू बोक्सीले गन्न नसकोस् भनेर बनाइन्छ, किनकि त्यस्तो भएमा झिझिया नाच्ने महिलामाथि अनिष्ट हुने भनाइ छ।

संस्कृतविद्हरूका अनुसार दशैंका दस दिनभर झिझिया खेलिन्छ। धामी, झाँक्री र बोक्सीहरू मन्त्रसिद्ध गर्ने समयमा कुनै अनिष्ट नहोस् भन्ने विश्वाससहित यसको आयोजना गरिन्छ। झिझियाको प्रारम्भ पनि बोक्सी प्रथासँग जोडिएको मानिन्छ।

दन्त्यकथा अनुसार एक राजाको भाञ्जाले राजाकी रानीसँग प्रेम गरेपछि राजा रिसाए र भाञ्जालाई जङ्गलमा फ्याँके। त्यही जङ्गलमा बस्ने एक बोक्सीले भाञ्जाको ज्यान बचाइन् र पछि राजालाई मारी भाञ्जालाई राजा बनाइन्। त्यसयता बोक्सीलाई गाली गर्दै झिझिया नृत्य सुरु भएको जनविश्वास छ। त्यसैले आजसम्म झिझियामा बोक्सीलाई गाली गर्ने परम्परा जीवित छ।

झिझिया नृत्यले मधेसको दशैंलाई मात्र रंगीन बनाएको छैन, सांस्कृतिक पहिचानलाई पनि जोगाइरहेको छ। विशेषगरी किशोरी र युवतीहरूको सक्रिय सहभागिता रहने झिझिया नाचले दशैंको रमझमलाई अझै रंगीन बनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार