सर्लाही – धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। बिहीबार राति करिब साढे १० बजे कमला नगरपालिका – २ माची र लगमाबीचको खोक्साहा पुलनजिक भारतीय नम्बर प्लेटको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा जनकनन्दिनी गाउँपालिका – ५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्रको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलमा सवार स्थानीय राहुल महतो गम्भीर घाइते भएका छन्। उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ।

मृतक दुवैको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार नाच हेर्न जाँदै गरेका बेला मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।





