सर्लाही – भारतको बिहारस्थित जोगवनी बजार शुक्रबार बिहानदेखि तनावग्रस्त बनेको छ। मुस्लिम र हिन्दु समुदायका युवाबीच भएको झडपपछि अवस्था असामान्य बनेको भन्दै नेपाली नागरिकलाई अस्थायी रूपमा सीमा नाकाबाट प्रवेशमा रोक लगाइएको छ।
इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरिएको भन्दै सुरु भएको विवाद केहीबेरमै दोहोरो झडपमा परिणत भएको हो। स्थिति थप उग्र बन्दै गएपछि भारतीय सुरक्षा निकायले जोगवनी प्रवेशमा प्रतिबन्ध लगाएको छ।

नेपाली नागरिकको मुख्य किनमेल केन्द्रका रूपमा रहेको जोगवनीमा दैनिक सयौँ नेपाली उपभोक्ता जाने गर्दछन्। चाडपर्व नजिकिँदै गर्दा त्यहाँको प्रवेश बन्द हुँदा विराटनगर–रानी नाकासम्म पुगेका नेपालीलाई फर्काइएका छन्।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको र नेपालीलाई सावधानीस्वरूप रोकिने व्यवस्था मिलाइएको जानकारी दिएका छन्। बिहान ११ बजेदेखि सुरु भएको तनावलाई नियन्त्रणमा लिन भारतीय प्रहरी व्यापक रूपमा खटिएको छ।
दुवै पक्षबीचको भिडन्त अझै शान्त नभएकाले स्थिति दंगा भड्किन सक्ने खतरा बढेको बताइन्छ। भारतीय अधिकारीहरूले समुदायका नेताहरूसँग संवाद गर्दै संयमता अपनाउन अपिल गरेका छन्।





