
सर्लाही, असोज ११ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको सर्लाही जिल्ला एकताको प्रथम जिल्ला अधिवेशनका क्रममा भएको अवरोध, अभद्र व्यवहार र कुटपिटको घटनालाई पार्टी नेतृत्वले गम्भीरतापूर्वक लिँदै सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्ने निर्णय गरेको छ ।
गत भाद्र महिनाको १९ र २० गते अधिवेशन सम्पन्न भएपछि २२ गते निर्वाचन कार्यतालिका अनुसार मलंगवाको जिविस चोकस्थित जानकी पार्टी प्यालेसमा निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला दिउँसो करिब २ बजे पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य संजय यादवसहितका व्यक्तिहरूले निर्वाचन कार्यलाई अवरोध पुर्याउँदै निर्वाचन अधिकृत, अध्यक्ष मण्डलका संयोजक र अन्य सदस्यहरूमाथि गालीगलौज, बेइज्जती र कुटपिट गरेको आरोप उनीमाथि लगाइएको छ ।

साथै सो क्रममा नगद रकमसमेत लुटिएको नवनिर्वाचित जिल्ला अध्यक्ष रणधीर यादवलगायतका नेताहरूले पार्टीको केन्द्रीय कार्यालयमा बुझाएको लिखित प्रतिवेदनमा उल्लेख गरीएकाे छ । असाेज ५ गते पार्टीको केन्द्रिय अध्यक्ष उपेन्द्र यादवकाे अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
बैठकले घटनाको सत्यतथ्य छानबिन गर्न तथा संलग्न व्यक्तिहरूमाथि आवश्यक संगठनात्मक कारबाही अघि बढाउन केन्द्रीय संगठन विभागलाई औपचारिक जिम्मेवारी दिने निर्णय गरेको पार्टीले जनाएको छ । पार्टीका नेताहरूका अनुसार, जसपाले आफ्नो संगठनलाई व्यवस्थित, अनुशासित र लोकतान्त्रिक पद्धतिमा अघि बढाउन कुनैपनि प्रकारको अनुशासनहीनता, हिंसा र दुर्व्यवहारलाई सहन नगर्ने जनाएका छन् ।
अधिवेशन पार्टीको एकता र संगठन मजबुत बनाउन गरिएको ऐतिहासिक कार्यक्रम हो । सो अवसरमा अवरोध सिर्जना हुनु दुःखद र निन्दनीय छ । निष्पक्ष छानबिनमार्फत दोषी पत्ता लगाई कारबाही गरिने नेताहरूले बताए । र यस घटनापछि सर्लाही जिल्लामा पार्टीका कार्यकर्ताहरूबीच व्यापक छलफल र असन्तुष्टि देखिएको छ ।