सर्लाही – निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको निवासमा आइतबार साँझ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले छापा मारेको छ। सिआईबीका स्रोतले केही महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिइएको बताईएको छ।
भूषण राणा नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका सालो हुन्। उनी हाल युरोपमा रहिरहेका कारण प्रहरी टोलीले उनको निवासमै पुगेर आवश्यक कागजात संकलन गरेको हो। स्रोतका अनुसार छापामा घरभित्र स्रोत नखुलेको रकम र आर्थिक लेनदेनसम्बन्धी कागजातहरू भेटिएका हुन्।

यसअघि भूषणमाथि ठूला ठेक्का र नियुक्ति प्रक्रियामा अनियमितता गर्ने गरेको आरोप उठिसकेको थियो। साथै, निवर्तमान परराष्ट्रमन्त्री आरजु राणासँगको आर्थिक सम्बन्धमा सहयोगी रहेको पनि भनिएको छ। सिआईबीले हाल संकलित कागजातको अध्ययन गरिरहेको छ। एक उच्च अधिकारीले भने, “प्रमाण पुष्टि भए कानुनी प्रक्रिया अगाडि बढाइनेछ।”





