दशैँको शुभकामना दिदै प्रचण्ड भन्छन्- संगठनात्मक शुद्धिकरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसक्यौं

२०८२ आश्विन १३, सोमबार १३:२६
file image

सर्लाही – नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजया दशमी २०८२ को अवसरमा शुभकामना दिंदै पार्टी भित्र संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया अघि बढाइसकेको बताएका छन्।

दशैंको शुभकामना सन्देशमार्फत प्रचण्डले नेपाली जनताको दशकौँ लामो संघर्ष र आन्दोलनबाट आर्जित उपलब्धिहरूको रक्षा गर्दै अझै अधुरा रहेका रूपान्तरणका मुद्दाहरूलाई आत्मसमीक्षासहित सम्बोधन गर्नुपर्ने जटिल राजनीतिक परिस्थितिमा मुलुक रहेको टिप्पणी गरे।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी लगायत संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका विषयहरू आज फेरि तीव्र रूपमा उठिरहेको भन्दै माओवादी केन्द्रले त्यसलाई जिम्मेवारीपूर्वक सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

जेन–जी पुस्ताको मागलाई समर्थन गर्दै उनले भने, “हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षा गर्दै आगामी मंसिरमा हुने विशेष महाधिवेशनमार्फत जेन–जीसहित युवाहरूको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित गर्ने तयारी भइरहेको छ।”

दशैंजस्ता सांस्कृतिक पर्वहरूले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणतर्फ अघि बढ्ने प्रेरणा दिने विश्वास व्यक्त गर्दै प्रचण्डले सबैलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र पारिवारिक पुनर्मिलनका साथ पर्व मनाउन आह्वान गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार