सर्लाही – बडादसैंको सप्तमीसँगै मिथिला क्षेत्रमा आजदेखि माता दुर्गा भवानीको प्रतिमा पूजन औपचारिक रूपमा सुरु भएको छ। सप्तमीका दिन प्रतिमा अनावरण भएपछि तराई मधेसका प्रत्येक जिल्ला र गाउँठाउँका दुर्गा मन्दिर तथा मण्डपहरूमा भक्तजनको भीड लागेको छ।
घर घरका महिला, पुरुषदेखि बालबालिकासम्म आ-आफ्नो सामर्थ्यानुसार श्रृङ्गारका सामग्री, कपडा, गहना, फलफूल, मिठाई, नरिवल, पान, सुपारीलगायत सामग्रीसहित मन्दिर पुगेका छन्। उनीहरूले लामबद्ध भएर माता दुर्गाको आराधना र पूजा अर्चना गरिरहेका छन्।

स्थानीय विश्वास अनुसार बडादसैंमा दुर्गा भवानीको पूजाअर्चना गरे घरमा शान्ति, सुख र समृद्धि कायम हुने मान्यता छ। साथै मिथिलाको सांस्कृतिक परम्पराअनुसार दुःख पाएकोले दुःखबाट मुक्ति, निःसन्तानले सन्तान, अभागीले भाग्य र गरिबले धन प्राप्त गर्ने आस्था पनि छ।
यसै कारण मिथिला क्षेत्रका हरेक परिवारका सदस्य, जसमा महिला, पुरुष, बालबालिका सबै, दुर्गा भवानीको प्रतिमा पूजनमा अनिवार्य सहभागिता जनाउने गर्छन्। बडादसैंको धार्मिक तथा सांस्कृतिक महत्व यसरी मिथिला क्षेत्रमा अझै प्रगाढ रूपमा झल्किने गरेको छ।





