
जनकपुर – मेडागास्करमा निरन्तर बढ्दो विरोध प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति एन्ड्री राजोएलिनाले आफ्नो सरकार विघटन गर्ने घोषणा गरेका छन्। पानी र बिजुली आपूर्ति लामो समय अवरुद्ध भएपछि युवाहरूको अगुवाइमा सुरु भएको आन्दोलन पछिल्ला दिनमा तीव्र बन्दै गएको थियो।
यही पृष्ठभूमिमा टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति राजोएलिनाले भने, “यदि सरकारले जनताले दिएको भरोसा पूरा गर्न सकेको छैन भने, त्यसको जिम्मा हामी स्वीकार गर्छौं र माफी माग्छौं।”

सरकार विघटनको घोषणासँगै आन्दोलनकारीहरूले राष्ट्रपतिको राजीनामा समेत माग गरेका छन्। राजधानीसहित विभिन्न क्षेत्रमा हजारौं युवा सडकमा उत्रिएका छन्। संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुखका अनुसार, प्रदर्शनहरूमा कम्तीमा २२ जनाले ज्यान गुमाएका छन् भने १०० भन्दा बढी घाइते भएका छन्।
सुरक्षा बलको कठोर कारबाहीलाई अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ। तर मेडागास्करको विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघद्वारा सार्वजनिक गरिएको तथ्याङ्कलाई अस्वीकार गर्दै ‘अफवाह र गलत जानकारीमा आधारित’ भएको दाबी गरेको छ।