रौतहटमा भन्सार छलीको सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा

२०८२ आश्विन १४, मंगलवार १७:२१

सर्लाही – रौतहट प्रहरीले ठूलो परिमाणमा भन्सार छलेर ल्याइएका सामान बरामद गर्दै ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बौधिमाई नगरपालिका–५ हनुमानमन्दिर नजिक भारततर्फबाट भित्र्याइएको सामानसहितको ना६ख ५६२ नम्बरको ट्रकलाई आइतबार साँझ नियन्त्रणमा लिइएको हो। ट्रक चलाइरहेका धादिङको गल्छी गाउँपालिका–६ निवासी विनय लामालाई समेत पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

दशैंको मौका छोपेर भन्सार छली गरिएको सामान सुरक्षित पार्ने उद्देश्य थियो। “समानको वास्तविक मालिकबारे अनुसन्धान भइरहेको छ, बरामद सामान भन्सार कार्यालयमा बुझाइनेछ,” जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु कार्कीले बताए ।

उनका अनुसार भारतीय बजारबाट राजस्व नतिरी ल्याइएका किराना सामान, सुर्ती र कपडाजस्ता वस्तु नरकटिया र रामपुर खाप नाका हुँदै कोपवा गाउँमा भण्डारण गरी ट्रकमार्फत मौलापुरतर्फ लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो। बरामद सामान र ट्रकको मूल्य करिब ४७ लाख रुपैयाँ बराबर हुने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार