ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोत मान्न सक्नुपर्दछः उपराष्ट्रपति यादव

२०८२ आश्विन १५, बुधबार ०८:३९

सर्लाही – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ज्येष्ठ नागरिकलाई परिवार र समाजले ‘बोझ’ को रूपमा होइन, अनुभव र मार्गदर्शन दिने जीवित सम्पत्तिका रूपमा सम्मान गर्नु पर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, “ज्येष्ठप्रति आदर, सहानुभूति र संवेदनशीलता देखाउनु युवा पुस्ताको नैतिक जिम्मेवारी हो।”

उनले नयाँ पुस्तालाई आफ्ना घरपरिवारमा ज्येष्ठको सहभागिता सुनिश्चित गर्न, उनीहरूको सल्लाहलाई महत्व दिन र सामाजिक गतिविधिमा सक्रिय बनाउन सहयोग गर्न आग्रह गरे।

डिजिटल साक्षरता, स्वास्थ्य सेवामा पहुँच र सामाजिक सुरक्षाको व्यवस्था गर्दै ज्येष्ठलाई सम्मानित जीवनयापन गर्न सक्ने वातावरण बनाउनुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ। उनले विशेषगरी एकल ज्येष्ठ नागरिकका लागि सामुदायिक सहारा र मानसिक स्वास्थ्य संरक्षणलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने औंल्याएका छन्।

“हामीका ज्येष्ठ नागरिक हाम्रो सांस्कृतिक, सामाजिक र नैतिक सम्पत्तिका प्रतीक हुन्,” उनले भने, “उनीहरूको योगदानलाई मूल्याङ्कन गर्नु हाम्रो कर्तव्य मात्र होइन, सभ्यताको पहिचान पनि हो।”

उपराष्ट्रपति यादवले लामो जीवनयात्रामा उनीहरूले गरेको त्याग, सेवा र समर्पण समाजका लागि दिशानिर्देशक हुने विश्वास व्यक्त गर्दै, समाजले ज्येष्ठलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोतका रूपमा आत्मसात गर्नु पर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार