असोज १७ देखि २० सम्म सर्लाहीसहित १७ जिल्ला उच्च जोखिममा: मौसम विभाग

२०८२ आश्विन १५, बुधबार २२:०२
फाइल फोटो

सर्लाही – जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न क्षेत्रमा बाढीको उच्च जोखिम रहने चेतावनी दिएको छ।

बंगालको खाडीमा विकसित मौसमी प्रणालीका कारण नेपालमा मनसुन सक्रिय हुँदै गइरहेको र यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै जिल्लामा मुसलधारे वर्षा हुने सम्भावना विभागले जनाएको छ।

हालको पूर्वानुमान अनुसार नारायणी, बागमती, कमला र कोशी नदीसहितका सहायक नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दै खतरा तह नजिक पुग्न सक्ने देखिएको छ। महाभारत र चुरे हुँदै बग्ने स–साना खोलानालामा पनि आकस्मिक बहाव हुने सम्भावना उच्च रहेको चेतावनी दिइएको छ।

उच्च जोखिममा रहेका जिल्लामा काठमाडौं उपत्यकाका तीनै जिल्ला, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, बारा, पर्सा, सर्लाही, रौतहट र मोरङ रहेका विभागले जनाएको छ।

विशेषगरी असोज १८ देखि २० गतेसम्म ती क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। विभागले रूपन्देहीदेखि सर्लाहीसम्मका ९ जिल्लामा ‘रेड अलर्ट’ समेत जारी गरेको छ।

“नेपालमा अझै मनसुनको बहिर्गमन नभएको अवस्थाका कारण विभागले वर्षा र बाढीसम्बन्धी सम्भावित जोखिमको निरन्तर अनुगमन गरिरहेको छ,” विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार