सर्लाही – मधेसको मिथिला क्षेत्रमा विजयादशमीका दिन विशेष उत्सवका रूपमा रावण वध आज परम्परागत तरिकाले मनाइँदैछ । महोत्तरीको मटिहानीमा वर्षौंदेखि निरन्तरता पाइरहेको यो सांस्कृतिक पर्व मिथिलाको विशेष पहिचान मानिन्छ ।
श्रीराम मिथिलाका ज्वाइँ भएको र मिथिलाकी छोरी सीताको हरणकर्तामाथि विजय प्राप्त गरेको स्मरण स्वरूप यो उत्सव मनाइने विश्वास गरिएको छ । विजयादशमीको दिन साँझ दश टाउके ‘दशानन’ रावणको अजङ्को प्रतिमा तयार पारेर श्रीरामको तीरले वध गरिएको दृश्य प्रस्तुत गरिन्छ ।

यसै माध्यमबाट असत्य, अन्याय र अहंकारमाथि सत्यको विजय भएको सन्देश दिने गरिन्छ । स्थानीय परम्परा अनुसार बिहान देवी विसर्जन सम्पन्न गरेपछि बेलुकी रावण वध उत्सव सुरु हुन्छ ।
विज्ञहरूका भनाइमा सत्ययुगमा देवी दुर्गाले चण्ड, मुण्ड र रक्तविजजस्ता दैत्यहरूलाई सम्हार गरेझैँ त्रेतायुगमा श्रीरामले दशानन रावणलाई सम्हार्नुभएको प्रसङ्गसँगै यो उत्सव जोडिएको हो ।
‘दश इन्द्रियको दासत्व’ लाई हराउने अर्थमा ‘दशहारा’ नामले प्रसिद्ध यो पर्व मिथिलामा धार्मिक मात्र नभई सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको प्रतिक बनेको छ । बडादशैंको विशेष दिनमा हजारौंको भीड मटिहानीमा जम्ने गर्छ ।
रावणको अजङ्को प्रतिमालाई वध गरिसकेपछि भोलिपल्ट बाजागाजासहित उल्लासमय वातावरणमा सो प्रतिमालाई जलाशयमा विसर्जन गर्ने चलन छ । स्थानीय बासिन्दाका अनुसार, देवी उपासनासँगै रावण वध उत्सव मिथिलाको दसैंलाई विशेष रंग दिने महत्वपूर्ण संस्कार बनेको छ ।





