टी-२० विश्वकप छनोट खेलका लागि नेपालको टोली घोषणा

२०८२ आश्विन १७, शुक्रबार १२:५९

सर्लाही – ओमानमा हुने पुरुष टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय राष्ट्रिय टोली सार्वजनिक गरेको छ।

शुक्रबार गरिएको घोषणा अनुसार राष्ट्रिय टोलीको नेतृत्व नियमित कप्तान रोहित कुमार पौडेलले गर्ने छन् भने उनको सहयोगीका रूपमा दीपेन्द्र ऐरी उपकप्तान तोकिएका छन्।

टोलीमा कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुलशन झा र सोमपाल कामी समेत रहेका छन्।

ओमानको अल अमेरात क्रिकेट एकेडेमी मैदानमा आगामी अक्टोबर ८ देखि १७ सम्म हुने यस प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। समूह चरणमा नेपालले कुवेत र जापानसँग भिड्नेछ।

यो छनोट प्रतियोगितामा एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रका गरी ९ टोली सहभागी छन्। सहभागी टोलीलाई तीन–तीनको समूहमा विभाजन गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार