सर्लाही – जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिनमा देशका विभिन्न नदी नालामा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार आज (शुक्रबार) दिउँसो ४ बजेसम्म अधिकांश नदीहरूको बहाब सामान्य नै रहनेछ। तर भोलिदेखि मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका क्षेत्रमा पानीको बहाब तीव्र रुपमा बढ्ने अनुमान गरिएको छ।

विशेषगरी भोलि (शनिबार) रातिदेखि नवलपरासी पूर्व–पश्चिम, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर, ललितपुर), काभ्रे, सिन्धुली, वारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लामा बहने स साना नदी नालामा आकस्मिक बाढीको उच्च जोखिम हुने चेतावनी विभागले दिएको छ।
त्यस्तै पर्सि (आइतबार) बिहानदेखि बेलुकीसम्म नारायणी, कालिगण्डकी, मर्स्याङ्दी, सेती, मादी, दरौँदी, त्रिशूली, बागमती, कमला लगायतका प्रमुख नदी र तिनका सहायक नदीमा बहाब असामान्य स्तरसम्म बढ्न सक्ने र सतर्कता तह नजिक पुग्ने संभावना रहेको सूचनामा उल्लेख छ।
विभागले आइतबार रातिदेखि प्रणाली पूर्वतर्फ सर्दै जाने भएकाले कोशी र कन्काईलगायतका नदी जलाधार क्षेत्रमा समेत बहाब उल्लेख्य बढ्ने चेतावनी दिएको छ। यसैले सम्बन्धित जिल्लाका स्थानीयबासी, सरोकारवाला निकाय र नदी किनारमा बसोबास गर्ने समुदायलाई सतर्क रहन विभागले आग्रह गरेको छ।





