बजेट अभावले मधेस प्रदेशको ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजना अन्तर्गत छोरी शिक्षा बिमा स्थगित

२०८२ आश्विन १७, शुक्रबार १७:०६

सर्लाही – मधेस प्रदेश सरकारले सात वर्ष अघि सुरु गरेको ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजना अन्तर्गतको छोरी शिक्षा बिमा कार्यक्रम यस वर्ष बजेट अभावका कारण स्थगित भएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा यस शीर्षकका लागि रकम विनियोजन नगरेपछि कार्यक्रम अघि बढाउन नसकिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ।

निर्देशनालयमा छोरी शिक्षा बिमा कार्यक्रम संयोजक प्रियंका यादवका अनुसार आवश्यक रकम नआएपछि हाल कार्यक्रम रोकिनु परेको हो। उनका अनुसार “हालसम्म १४ हजार ४५३ जना छोरीको बिमा भए पनि करिब १० हजार जनाको प्रिमियम भुक्तानी बाँकी छ।”

कार्यक्रम प्रारम्भदेखि हालसम्म विभिन्न आर्थिक वर्षमा हजारौँ बालिकाको बिमा भएको तथ्याङ्क छ। २०७५/७६ मा पाँच हजार ६६६, २०७८/७९ मा एक हजार ७०२, २०७९/८० मा तीन हजार ३०२ र २०८०/८१ मा तीन हजार ७८३ जनाको बिमा गरिएको निर्देशनालयले जनाएको छ।

एक बालिकाको बिमा गर्दा ३७ हजार ४५७ रुपैयाँ प्रिमियम तिर्नुपर्ने व्यवस्था छ। तर बजेट नआउँदा प्रिमियम भुक्तानीमा अवरोध भएको र योजना नै स्थगित भएको अधिकारीहरू बताउँछन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार