सर्लाहीमा स्यालले टोकेर ६ जना घाइते

२०८२ आश्विन १७, शुक्रबार २०:१८

मलंगवा – सर्लाहीमा स्यालले टोकेर ६ जना घाइते भएका छन्। जिल्लाको कबिलासी नगरपालिका – ८ भुताहा चौरीमा आज दिउँसो स्यालले आक्रमण गर्दा छ जना घाइते भएका हुन्।

सर्लाही प्रहरीका सूचना अधिकारी डिएसपी सरोज राईका अनुसार घाइते हुनेमा स्थानीय ३० वर्षीया रन्जुदेवी साह, ८६ वर्षीय राम अशिष पासवान, ६३ वर्षीया दरापती देवी, ८ वर्षीया सुमन कुमारी साह, ४५ वर्षीय भुनेश्वर पासवान र ५० वर्षीया मनतोरिया देवी रहेका छन्। उनीहरूको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

आक्रमणमा परेका रन्जुदेवीको बाँया खुट्टा, राम अशिषको ओठ, दरापतीको दाहिने आँखा, सुमन कुमारीको अनुहार र माथिल्लो ओठ, भुनेश्वरको दाहिने खुट्टा तथा घुँडा र मनतोरियाको कम्मर र तिघ्रामा चोट लागेको छ। सबै घाइतेको अवस्था सामान्य रहेको राईले दिए।

प्रत्यक्षदर्शीका अनुसार खेतमा काम गरिरहेका र घाँस काट्न गएका उनीहरुमाथि आक्रमक रूपमा दौडिरहेको स्यालले पालैपालो टोकेको हो। स्थानीयले स्याललाई लखेटी मारिदिएको बुझिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार