सिरहामा प्रहरीकै अगाडि ५ दलित समुदायको घर भत्काएर लुटपाट

२०८२ आश्विन १८, शनिबार १८:११

सर्लाही – सिरहाको कल्याणपुर नगरपालिका–८, अरङ गाउँमा दलित समुदायका पाँच घर शुक्रबार साँझ स्थानीय समूहले प्रहरीकै अगाडि भत्काएर लुटपाट गरेका छन्।

ठूलो पोखरीको उत्तरपट्टी बसोबास गर्दै आएका शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवानको घर करिब २०/२५ जनाको समूहले आक्रमण गरेको हो।

पीडितहरूले घरमा रहेका अन्नपातदेखि गरगहना लुटिएको, दुई हातेपम्प भत्काइएका साथै बगैँचामा भएका केरा, कागती र आँपका बोट समेत तोडफोड गरिएको बताएका छन्।

पीडितका अनुसार राजकुमार सिंह, प्रभाष सिंह, शैलेन्द्र सिंह र नितेश सिंहसहितको समूहले घर तोडफोड गरेको हो। “राजकुमार र प्रभाष सिंहले आफन्तसहित बाहिरबाट गुण्डा बोलाएर हाम्रो घर भत्काइदिए,” पिडितहरुले भने।

प्रहरी ‘मुखदर्शक’ बनेको आरोप

पीडितहरूले घटना सुरु हुनु अघि दलित समुदायले प्रहरीलाई जानकारी गराए। तर घटनास्थलमा उपस्थित कल्याणपुर प्रहरी चौकीका चार जना प्रहरी समूहको डरले मुखदर्शक बने।

पछि इलाका प्रहरी कार्यालय मिर्चैया र सशस्त्र प्रहरीको थप टोली पुग्दा मात्र आक्रमणकारी भागेका थिए।

सिरहा प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले घटनाक्रमबारे जानकारी दिँदै भने, “प्रहरीले तोडफोड रोक्न प्रयास गरेका थिए। नरोकिने अवस्थामा गोली चलाउने चेतावनी समेत दिएका थियौं।”

पुरानो विवाद र आक्रमणको कारण

गत असोज १ गते विश्वकर्मा मेलामा आरकेस्ट्रा स्थलमा विवाद भएको थियो। राजकुमारका अनुसार प्रभाष सिंहले उनलाई मादक पदार्थ सेवन गराएर कुटपिटको प्रयास गरेका थिए।

त्यसपछि दलित समुदायले प्रहरी चौकी कल्याणपुरमा सुरक्षा र कारबाहीको माग गर्दै निवेदन दिएका थिए। असोज १२ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा छलफल भएको थियो। त्यस क्रममा दलित समुदायलाई तर्साउन प्रभाष तरवारसहित केही स्थानीयले धम्की दिएका थिए।

विवाद समाधान हुन नसकेपछि असोज २१ का लागि छलफल सारिएको थियो। तर शुक्रबार राजपूत पक्षले गाउँमै बैठक गरी दलितलाई ‘उठिबास’ गर्ने निर्णय गरे र त्यसपछि घरमा तोडफोड सुरु भयो।

तत्काल राहत र घटनापछि स्थिति

घटनामा संलग्नमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य फरार छन्। प्रभाषको घरमा ताल्चा फोडेर खानतलासी गरिएको छ। घर भत्काइएका पाँच दलित परिवार विस्थापित भएका छन्।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी र एसपी शर्मासहितको टोली घटनास्थल पुगेको थियो। तत्कालका लागि पीडितलाई त्रिपाल उपलब्ध गराइएको छ भने नगरपालिकाबाट खाद्यान्नको व्यवस्था गर्न अनुरोध गरिएको छ।

एसपी शर्माका अनुसार फरार अभियुक्तहरूको खोजी जारी छ र पक्राउपछि कानुनी प्रक्रिया अघि बढाइनेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार