
मलंगवा – लगातारको वर्षाले सर्लाही जिल्लाका विभिन्न स्थानमा ठूलो क्षति पुगेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ। शनिबार रातिदेखिको अविरल वर्षाका कारण बस्ती, खेत, सरकारी कार्यालय, प्रहरी चौकी र पुलमा क्षति भएको छ। प्रहरी, सेना र स्थानीयको सहयोगमा उद्धार तथा व्यवस्थापन भइरहेको प्रशासनले जनाएको छ।
प्रशासन कार्यलयका अनुसार गोडैता नगरपालिका – ८ मा प्रहरी चौकी गोडैताको पूर्वपट्टि रहेको करिब २० फिट लम्बाइ र ६ फिट उचाइको पर्खाल भत्किएको छ। त्यस्तै, कबिलासी नगरपालिका – ८ अगर्वामा गैरी खोलामा नयाँ पुलमा पानी जम्दा १४ घरमा पानी पसेको छ। मलंगवाबाट ल्याइएका उपकरण प्रयोग गरी पानी निकास गरिएको छ। कबिलासी नगरपालिका – ४ हेमपुरमा समेत पानी जम्दा स्थानीयको सहयोगमा होमपाइप हटाएर निकास खोलिएको बताईएको छ।

चन्द्रनगर गाउँपालिका – ५ मोहनपुरमा मोहनपुर चौकी नजिकै ७ फिट उचाइ र १५ फिट लम्बाइको कम्पाउण्डवाल भत्किएको छ। कौडेना गाउँपालिका – ६ सक्रौल र – ७ शिवनगर क्षेत्रमा लखनदेही खोलाले बाँध कटान गर्दा बस्तीमा पानी पस्न थालेपछि स्थानीयलाई माइकिङ गरेर सुरक्षित स्थानतर्फ सारिएको छ। कौडेना – ३ मा खोलाको पानी खेतमा पस्दा छपकैयामा पनि जोखिम रहेको प्रशासनले जनाएको छ।
यस्तै, कबिलासी नगरपालिका – २ पिपरियामा पर्खाल भत्किँदा सुधरी दनुवारकी ९ वर्षीया छोरी शिवानी घाइते भएकी छिन्। उनको खुट्टा भाँचिनुका साथै टाउकोमा चोट लागेको छ। उनको स्थानीय अस्पतालमा सामान्य उपचारपश्चात जनकपुरस्थित गोदावरी अस्पतालमा रेफर गरिएको छ।
हरिपुर नगरपालिका – ११ मा ३०/४० घर वरिपरि पानी पस्दा प्रहरी र सेनाको टोली परिचालित भई जेसिभी प्रयोग गरेर नाला सफा गरिएको छ। अहिले अवस्था सामान्य भएको प्रशासनले जनाएको छ। चक्रघट्टा गाउँपालिका – ५ मा १७/१८ घर डुबानमा परेका छन् भने ईलाका प्रहरी कार्यालय चक्रघट्टा कार्यालयमा समेत पानी पसेको छ।
यसैगरी, मलंगवा नगरपालिका – ८ गोरखकालीमा प्रहरी चौकी, भन्सार कार्यालय र प्रहरी बिट परिसरमा पानी जमेको छ।
बरहथवा नगरपालिका – ७ डोमटोलमा सोती खोलाको बहाव बढ्दा १०/१२ घरमा पानी पसेको छ भने स्थानीय बजार क्षेत्रमा आश्रय लिएका छन्। बसबरिया गाउँपालिका – २ धपटोलमा बाढीले स्थानीय ५५ वर्षीय रामसूरत सहनी र उनकी पत्नी गोठमा फसेका थिए, उनीहरुलाई प्रहरीले स्थानीयको सहयोगमा सुरक्षित उद्धार गरेको छ।
यस्तै, बरहथवा नगरपालिका – १६ टिकुलियामा खोलाको पानी पस्दा पासवान र यादव बस्ती प्रभावित भएका छन्। धनकौल गाउँपालिका – ३ हरकठवा र –४ मैनाथपुरमा मनुस्मारा खोलाको पानी पस्ने सम्भावना रहे पनि तत्काल अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ। यसै क्रममा रौतहटतर्फ जाने धरमपुर जोड्ने सडक करिब २ किलोमिटर लामो खण्डमा अवरुद्ध भएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयको सक्रियतामा उद्धार तथा व्यवस्थापन कार्य भइरहेका छन्। बाढी र वर्षाका कारण थप क्षति हुन नदिन सतर्कता अपनाइएको र अवस्था क्रमशः सामान्यतर्फ फर्किरहेको जनाइएको छ।