भत्किएको सडकमा बाँसको लच्का बनाएर आवत जावत गरिँदै, सडक निर्माणको काम पनि सुरु

२०८२ आश्विन २१, मंगलवार १८:३१

सर्लाही – अविरल वर्षासँगै आएको बाढीले सर्लाहीको कौडेना गाउँपालिका – ३ स्थित हुलाकी सडक बगाएपछि आवतजावत अवरुद्ध भएको थियो ।

शनिबार राति आएको बाढीका कारण दक्षिण सर्लाहीलाई सदरमुकाम मलंगवासँग जोड्ने यो मुख्य मार्ग पूर्णरूपमा विच्छेद भएको थियो। आज (मंगलबार) नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा बाँसको लच्का निर्माण गरेका छन् ।

स्थानीय बासिन्दाको सहज आवतजावतका लागि सुरक्षाकर्मीहरूले अस्थायी रूपमा बाँस र पाटको सहायताले लच्का तयार पारेका हुन् ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार लच्का निर्माणसँगै पैदलयात्री, साइकल र मोटरसाइकल यातायात पुनः सञ्चालनमा आएको छ । उनले थप जानकारी दिँदै भने, “चार पांग्रे सवारीसाधनका लागि डाइभर्सन निर्माणको काम पनि आजैबाट अगाडी बढाईएको छ।”

यस्तै पालिकाका अध्यक्ष रुपेश कुमार यादवका अनुसार सडक निर्माणको काम सुरु भईसकेको र सडक भोलिबाट सुचारु हुनेछ।लखन्देही खोलामा आएको भीषण बाढीले शनिबार राति कौडेनामा रहेको हुलाकी सडकखण्ड करिव १५ मिटर भाग बगाएको थियो । यसले सदरमुकाम मलंगवासँग जोडिने जिल्लाका आधा दर्जन पालिकाको सम्पर्क टुटाएको थियो ।

यस बिषयमा हामीले ‘अध्यक्षले एक घण्टामा बनाईन्छ भनेको सडक तिन दिनसम्म पनि बनेन, शुल्क तिरेर आवत जावत गर्दै स्थानीय‘ समाचार प्रकाशन गरेका थियौ। यहाँ यसअघि स्थानीय युवाहरूले पनि सोमबार बिहानदेखि बाँस र पाटको सहायतामा शुल्क उठाएर पैदलयात्री र साना सवारी साधन पार गराउने अस्थायी व्यवस्था मिलाएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार