सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले बुधबार दायर गरेको मुद्दामा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वभूमि सुधारमन्त्री रञ्जिता श्रेष्ठसहितका विरुद्ध ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

लिचीबारी क्षेत्रको जग्गा हिनामिना गर्ने उद्देश्यले गरिएको ‘घुस डिल’को अडियो सार्वजनिक भएपछि आयोगले दुवै पूर्वमन्त्रीसँग बयान लिएर अनुसन्धान अघि बढाएको थियो। बिचौलियाहरूबीचको अडियो संवादका आधारमा ‘लिचीबारी प्रकरण’मा मुद्दा दायर गरिएको हो।
अख्तियारका अनुसार पोखराको बाटुलेचौरस्थित लिची बगान क्षेत्रको करिब १३४ रोपनी जग्गा सुकुम्बासीका नाममा बाँडेर व्यक्तिगत लाभ उठाउने योजना बनाइएको थियो। सो योजनामा तत्कालीन मन्त्रीहरू, कर्मचारी र बिचौलियाहरू संलग्न रहेको अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री गुप्ताले पदबाट राजीनामा दिएका थिए।
मुद्दामा मन्त्रीहरूसँगै तत्कालीन मालपोत कार्यालय कास्कीका अधिकृत रामचन्द्र अधिकारी, साथै घुस डिलमा संलग्न सुजनकुमार तामाङ, एमकुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुनलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ। तर सो समयमा भूमिसुधार मन्त्री रहेका एमाले नेता बलराम अधिकारी भने मुद्दाको सूचीमा परेका छैनन्।





