मलंगवा – जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य अशोक कुमार यादव एक लाख ६० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
यादवलाई सर्लाही प्रहरीले भदौ २५ गते पक्राउ गरेको थियो। आमाको निधन भएपछि प्रहरी हिरासतबाट असोज ३ गते काजकिरिया गर्नका लागि अस्थायी रूपमा छाडिएको थियो। काजकिरिया सकेपछि आज यादव स्वयं सर्लाही जिल्ला अदालत मलङ्गवामा उपस्थित भएका थिए।

न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले यादवसँग राजद्रोह मुद्दामा एक लाख र सार्वजनिक सेवा अवरोध तथा आपराधिक उपद्रव मुद्दामा ३०/३० हजार गरी कुल एक लाख ६० हजार रुपैयाँ धरौटी लिई रिहा गर्ने आदेश दिएको हो।
रिहा भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले भने, “अन्याय, अत्याचार र भ्रष्टाचारको विरोध गर्दा उल्टै ममाथि राज्यले लाञ्छना लगाएर मुद्दा दायर गर्यो, तर अन्ततः अदालतले न्याय दिएको छ।”
गत असार १९ गते राति प्राविधिक कार्यालय मलङ्गवामा आर्थिक अनियमितता र रातभरको कामबारे सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्का र यादवबीच गालिगलौजसहितको फोन संवाद सार्वजनिक भएको थियो। सो घटनापछि प्रहरीले यादवको सलेमपुरस्थित घरमा छापा मार्दा प्रहरी गाडीमा तोडफोड र केही सुरक्षाकर्मी घाइते भएका थिए।
फरार रहँदै यादवले सामाजिक सञ्जालमार्फत “जय बिहार, जय भारत, जय मधेश” भन्दै आफ्ना विचारहरू व्यक्त गरेका थिए। पछि भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा मलङ्गवामा प्रदर्शनमा सहभागि भएका उनलाई भोलिपल्ट प्रहरीले नियन्त्रणमा लिएको थियो।
यादवको गिरफ्तारीको विरोधमा जसपाका नेता–कार्यकर्ताले मलङ्गवालगायतका बिभिन्न बजार बन्द, टायर बाल्ने र चक्काजामजस्ता प्रदर्शनसमेत गरेका थिए।





