सर्लाही – सर्लाहीको गोडैता नगरपालिका – ७ का वडाध्यक्ष विनेश कुमार दास स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। प्रहरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका उनी बिहीबार प्रादेशिक अस्पताल मलंगवामा भर्ना भएका हुन्। हाल उनको उपचार प्रहरीको निगरानीमा भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारि डिएस्पि सरोज राईका अनुसार बिहिबार वडाध्यक्ष दासको स्वास्थ्यमा समस्या देखिएको र उनलाई मलंगवामा उपचार गरेर बिहिबार नै हिरासतमा फर्काईएको हो।

वडाध्यक्ष दासलाई असोज १७ गते गोडैता प्रहरी चौकीमा आक्रमण गरी चौकी इन्चार्ज सई अवधेश प्रसाद यादवलाई कुटपिट गरेको आरोपमा मंगलबार पूर्वपश्चिम राजमार्गस्थित कर्मैयाबाट पक्राउ गरिएको थियो। प्रहरीले वडाध्यक्ष दासविरुद्ध कुटपिट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवका मुद्दामा सर्लाही जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान अघि बढाइरहेको छ।
घटना दुर्गा पूजाका लागि चन्दा उठाउने विवादपछि सुरु भएको थियो। सो क्रममा गोडैता–७ का कारिल यादवलाई रामनगर – ५ का ठेकेदार अनिल राय यादव लगायतले कुटपिट गरेको घटना घटेपछि कारिल पक्षका युवाहरुले ठेकेदारलाई प्रहरी चौकीमा लुकाएर राखेको भन्ने आरोप लगाएर बिरोध गरेका थिए।
त्यसबेलासम्म पनि पक्राउ परेका दास घटनास्थलमै नरहेको बुझिएको छ। बिबाद चर्किएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्र कुमार खड्काले गोडैता नगरपालिकाका नगरप्रमुख देबेन्द्र यादवलाई फोन गरेर घटनास्थलमा पुगेर घटनालाई साम्य बनाउन भनेका थिए। त्यसपछि नगरप्रमुख यादवले दासलाई त्यहाँ जान भनेपछि दास चौकीमा पुगेको देखिन्छ।
उनि चौकीमा पुगेर घटना सम्बन्धि स्थानीय र प्रहरीसंग बुझेपछि युवाहरुलाई सान्त हुन् सुझाव दिएर फर्किएको एक प्रत्यक्षदर्शीले बताए। यता, प्रहरीले पनि उनि घटनास्थलमा पुगेको भिडियो क्लिप खिचेर मुख्य दोषी बनाएर उनलाई पक्राउ गरेको आरोप लागेको छ।
गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले भने वडाध्यक्ष दासमाथि राजनीतिक पूर्वाग्रहका आधारमा झूटो आरोप लगाएर पक्राउ गरिएको दाबी गरेका समेत गरेका छन्। उनले ठुलो राजनीतिक सड्यन्त्रसमेत भएको बताएका छन्।





