धनकौलमा बाढी प्रभावितलाई राहत वितरण

२०८२ आश्विन २४, शुक्रबार १८:२९

धनकौल – हालैको बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि सर्लाहीको धनकौल गाउँपालिकामा राहत सामग्री वितरण गरिएको छ।

शुक्रबार धनकौल गाउँपालिकाको कार्यालयमा औपचारिक कार्यक्रम आयोजना गरि बाढी प्रभावितलाई राहत बितरण गरिएको हो। कार्यक्रम प्लान इन्टरनेशनल नेपाल र रास्ट्रिय रोजगार प्रबर्द्वन केन्द्र (आरआरपिके) को सहकार्यमा सम्पन्न भएको हो।

बाढीबाट विस्थापित तथा क्षतिग्रस्त २८० घर परिवारहरूलाई गैर खाद्य सामग्री वितरण गरिएको हो। यसका साथै, जुन बाढी पीडितको घरमा दुई महिना भन्दा साना शिशु, सुत्केरी महिला छन् त्यहाँ ‘डिग्निटि किट’ राहत वितरण गरिएको हो।

बाढी प्रभावितलाई गैर खाद्य सामग्रीमा त्रिपाल, डोरी, कम्बल, सुत्ने म्याट, पी-फम, सौर्य बत्ति, लामखुट्टे झुल वितरण गरिएको थियो भने ‘डिग्निटि किट’मा नुहाउने साबुनदेखि बिभिन्न कपडालगायतका सामग्रीहरु थिए। राहतले प्रभावित परिवारहरूलाई तत्कालका आवश्यकता पूरा गर्न सहयोग पुर्‍याएको स्थानीयहरूले बताएका छन्।

गाउँपालिकाले राहत वितरणपछि बाढीपीडित क्षेत्रका घर पुनःस्थापना, सडक र सरसफाइ सुधारका कामलाई प्राथमिकता दिने जनाएको छ। साथै, दीर्घकालीन पुनर्निर्माण योजना तयार पार्दै विद्यालय, स्वास्थ्य चौकी र खानेपानीका संरचना मर्मत गर्ने तयारी समेत गरिएको गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार