मधेश प्रहरीको कमाण्ड सम्हाल्दै डीआईजी थपलियाले भने – शान्ति सुरक्षा र अपराध नियन्त्रण मेरो प्राथमिकता

२०८२ आश्विन २७, सोमबार १२:५६

सर्लाही – मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको नयाँ नेतृत्वका रूपमा डीआईजी गोविन्द थपलियाले सोमबारदेखि कार्यभार सम्हालेका छन्। कार्यभार सम्हाल्दै उनले मधेश प्रदेशमा शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे।

२०५४ साल चैत १८ गते प्रहरी निरीक्षकका रूपमा सेवामा प्रवेश गरेका थपलियाले तीन दशकभन्दा बढी समय प्रहरी संगठनभित्र विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन्।

उनले रौतहट र धनुषा प्रहरी प्रमुख, लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) प्रमुख, मानवश्रोत विकास विभागका शाखा प्रमुख, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रदेश समन्वय विभागमा पनि सेवा पुर्‍याइसकेका छन्।

लागुऔषध नियन्त्रण क्षेत्रमा थपलियाको योगदान उल्लेखनीय रहँदै आएको छ। ब्युरो प्रमुखका रूपमा रहँदा उनले देशभर गाँजा खेती नियन्त्रण अभियान सञ्चालन गर्दै वैकल्पिक नगदे बाली प्रवर्द्धन र जनचेतनामूलक कार्यक्रममार्फत ग्रामीण समुदायमा सशक्त सन्देश पुर्‍याएका थिए।

मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा बढ्दै गएको सीमापार अपराध, तस्करी, आर्थिक ठगी र सामाजिक विवादका घटनालाई ध्यानमा राख्दै उनले प्रहरीको उपस्थिति अझ प्रभावकारी र जनमैत्री बनाउने योजना अघि सारेका छन्।

जनकपुरधाममा पदभार ग्रहण समारोहका क्रममा डीआईजी थपलियाले भने, “मधेश प्रदेशमा शान्ति, सुरक्षा र अपराध नियन्त्रण हाम्रो पहिलो प्राथमिकता हुनेछ। अपराधविरुद्ध शून्य सहिष्णुता अपनाइनेछ।”

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार