विपिन जोशीको मृत्यु भइसकेको हमासद्वारा पुष्टि

२०८२ आश्विन २७, सोमबार २०:०२

सर्लाही – प्यालेस्टाइनी समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ । हमासका अनुसार जोशीको शव आजै इजरायल पक्षलाई बुझाइने छ । हमासले गाजामा इजरायली सेनाको आक्रमणका क्रममा जोशीको ज्यान गएको दाबी गरेको छ ।

उनीसँगै अन्य तीन बन्धक इजरायली नागरिक गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्जका शव पनि आजै हस्तान्तरण गरिने जनाइएको छ । यसअघि आजै हमासले २० जना जीवित बन्धकहरूलाई इजरायलमा फर्काएको थियो ।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि गरेको आक्रमणका क्रममा विपिन जोशी अपहरणमा परेका थिए । त्यसयता उनको अवस्थाबारे विभिन्न अन्दाज र अकल्पनीय घटनाक्रमहरू बाहिरिएका थिए ।

उनी एकपटक घाइते अवस्थामा अस्पतालमा देखिएको रिपोर्ट सार्वजनिक भएको थियो, भने केही दिनअघि मात्रै उनकाे एउटा भिडियोसमेत सार्वजनिक गरिएको थियो, जुन अपहरणको केही दिनपछि रेकर्ड गरिएको बताइन्छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार