सर्लाही – सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले वीरगञ्जमा भन्सार छली गरी गोदाममा लुकाइ राखिएको ठूलो परिमाणको सुन र चाँदी बरामद गरेको छ।
विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका – ८, माईस्थानस्थित अभिषेक सर्राफको घरमा छापा मार्दा २ किलो २५४ ग्राम सुन र १० किलो ३५४ ग्राम चाँदी फेला परेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार बरामद गरिएको सुनचाँदी तथा नगद रकम आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको छ। उनका अनुसार ‘भन्सार छली गरी सुन र चाँदी भित्र्याएको आशङ्कामा गरिएको छापामारीमा उक्त परिमाणको सुनचाँदी बरामद गरिएको हो।’
सुन र चाँदीको प्रारम्भिक मापन गर्दा क्रमशः २,२५४.८६ ग्राम सुन र १०,३५४.०७ ग्राम चाँदी फेला परेको थियो। साथै, सुनजस्तो देखिने थप ५५९ ग्राम धातु र चाँदीजस्तो देखिने ५५० ग्राम वस्तु पनि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। छानबिनका क्रममा उक्त घरबाट एक लाख नौ हजार रुपैयाँ नगद र भारतीय मुद्रा ४१ हजार ६० पनि बरामद गरिएको छ।
राजस्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख हरिप्रसाद शर्माका अनुसार बरामद गरिएका धातुहरू परीक्षणका लागि पठाइने र त्यसपछि राजस्व अनुसन्धान विभागमार्फत विस्तृत छानबिन सुरु गरिनेछ। ‘परीक्षणपछि कानूनी प्रक्रिया अघि बढाइनेछ,’ शर्माले भने, ‘यदि भन्सार छली पुष्टि भए आवश्यक कानूनी कारबाही र मुद्दा दायर गरिनेछ।’





