जेन-जी आन्दोलनपछि सेनाद्वारा माडागास्करमा सत्ता कब्जा

२०८२ आश्विन २८, मंगलवार २१:४१

सर्लाही – माडागास्करमा राजनीतिक संकट गहिरिँदै जाँदा सेनाको एक शक्तिशाली इकाईले सत्ता नियन्त्रणमा लिएको र राष्ट्रपति एन्ड्री राजोएलिनालाई पदमुक्त गरेको घोषणा गरेको छ।

बीबीसीका अनुसार उक्त सैन्य समूहले संवैधानिक अदालत, निर्वाचन आयोगलगायत प्रमुख लोकतान्त्रिक संस्थाहरूलाई निलम्बन गरेको छ। यसअघि संसदले राजोएलिनामाथि महाभियोग लगाउने प्रस्ताव पारित गरेको थियो।

राष्ट्रपति राजोएलिनाको अवस्थाबारे यतिबेला अस्पष्ट छ। सोमबार साँझ उनले फेसबुकमार्फत राष्ट्रलाई सम्बोधन गर्दै महाभियोगको निर्णय असंवैधानिक र अमान्य रहेको दाबी गरेका थिए। गत केही हप्तादेखि जेनजी पुस्ताका युवाहरूको नेतृत्वमा माडागास्करमा तीव्र विरोध प्रदर्शन भइरहेको थिए।

यही अस्थिरताबीच कर्नेल माइकल रान्द्रियानारिनिनाको नेतृत्वमा रहेको सीएपीएसएटी नामक सैन्य इकाईले देशको सत्ता हातमा लिएको घोषणा गरेको हो। कर्नेल रान्द्रियानारिनिनाले पत्रकारहरूसँग कुरा गर्दै आगामी १८ महिना देखि दुई वर्षभित्र नयाँ चुनाव गरिने र राष्ट्रिय सहमतिमा आधारित अस्थायी सरकार गठन गरिने जानकारी दिए।

उनले भने, “यो आन्दोलन सडकबाट सुरु भएको हो, त्यसैले जनताका मागलाई हामीले सम्मान गर्नुपर्छ।” उनका अनुसार देशको राजनीतिक प्रणाली ठप्प भएकाले अहिलेको शासनलाई हटाउनु नै अपरिहार्य थियो। उनले जोड दिए, “यहाँ न राष्ट्रपति बाँकी छन्, न सरकार, केही पनि काम गरिरहेको छैन।”

रोचक कुरा के छ भने, सन् २००९ मा तत्कालीन राष्ट्रपति मार्क राभालोमानानालाई हटाएर राजोएलिनालाई सत्तामा पुर्‍याउने यही सीएपीएसएटी इकाई अहिले उनको शासनविरुद्ध उभिएको हो। माडागास्कर अहिले पूर्ण अनिश्चितताको अवस्थामै रहेको छ, जहाँ सेना, राजनीतिक दल र सडकमा उत्रिएका जनताबीच सत्ताको नयाँ समीकरण खोज्ने प्रयास तीव्र भएको देखिन्छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार