सर्लाही – मधेश प्रदेशमा सरकार गठनको नयाँ समीकरण तयार भएको छ।
प्रदेश प्रमुखले दलहरूलाई सरकार गठनको आह्वान गरेपछि दलहरूबीच गठबन्धन बनाउने प्रयास तीव्र बनेको हो। सो क्रममा हिजो मध्यरातसम्म चलेको दौडधुप र छलफलपछि पाँचदलीय गठबन्धनको सहमति बनेको छ।

सहमति अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र प्रसाद सोनललाई नयाँ मुख्यमन्त्री बनाउने तयारी भएको स्रोतले जनाएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्त ठाकुरको उपस्थितिमा भएको छलफलले गठबन्धनको रूपरेखा तय गरेको हो।
यस गठबन्धनमा लोसपा, जसपा नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी सहभागी रहेका छन्। गठबन्धनसँग अहिले ५६ जना सांसदको बहुमत रहेको बताइएको छ। नयाँ गठबन्धनका दलहरूले आजै प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेस गर्ने तयारी गरेका छन्।
यसअघि नेपाली कांग्रेसले एमाले र जनमत पार्टीसँग सहकार्य गर्दै आफ्नो नेतृत्वमा सरकार गठनको दाबी पेस गरेको थियो। तर, जनमत पार्टी फुटेर जनस्वराज पार्टी अलगिएपछि कांग्रेस नेतृत्वको गठबन्धन कमजोर बनेको छ। सरकार गठनका लागि प्रदेश प्रमुखले आज साँझ ४ बजेसम्म दाबी पेस गर्न समय तोकेका छन्।





