मधेशका मुख्यमन्त्री सोनल आज पद तथा गोपनियताको सपथ लिँदै

२०८२ आश्विन ३०, बिहीबार ०९:४४

सर्लाही – मधेश प्रदेशमा नयाँ सरकार गठनसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र प्रसाद सोनल आज मुख्यमन्त्रीको रूपमा पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छन्। बुधबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन्।

सोनलले बुधबार बिहान दाबी पेश गरेका थिए। जसमा जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा (एकीकृत समाजवादी) का ७ जना गरी ५६ सांसदको समर्थन रहेको उल्लेख छ। बहुमतका लागि आवश्यक ५४ भन्दा दुई बढी समर्थन प्राप्त भएपछि उनलाई सरकार गठनको जिम्मेवारी दिइएको हो।

बारा–४ (ख) बाट निर्वाचित सोनल यसअघि मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रीका रूपमा कार्यरत रहेका थिए। आठ वर्षको अवधिमा उनी प्रदेशका चौथो मुख्यमन्त्री बनेका हुन्।

सोनल नेतृत्वको गठबन्धनमा जसपालाई चार, जनमतलाई तीन, माओवादी केन्द्रलाई दुई, लोसपा र नेकपा (एस) लाई एक एक मन्त्रालय दिने सहमति भएको स्रोतले जनाएको छ। यसअघि मुख्यमन्त्री रहेका जनमत पार्टीका सतीश कुमार सिंहले समर्थन फिर्ता भएपछि राजीनामा दिएका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार