मधेश प्रदेशसभा सदस्य सिंहसहित १६ जनामाथि भ्रष्टाचारको मुद्दा दायर

२०८२ आश्विन ३०, बिहीबार १२:३५

सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ।

महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य सिंहमाथि विद्यालय र मन्दिरका विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको रकमको दुरुपयोग गरेको आरोप लगाइएको हो।

आयोगका अनुसार सो समितिहरूमा जम्मा भएको रु. १ करोड ३६ लाख २७ हजार ४८१ मध्ये रु. ३८ लाख ५० हजार ३१९ (करिब २८ प्रतिशत) रकम सिंहले घुसस्वरूप लिएर आफ्नै र श्रीमतीको संयुक्त खातामा राखेको पाइएको छ। त्यस रकमको केही भाग सिंहका स्वकीय सचिव विनोद कुमार लाल कायस्थको खातामा समेत सारिएको आयोगले जनाएको छ।

सिंहसँगै रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासवान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीमाथि पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

आयोगले उनीहरू सबैले मिलेमतो गरी उपभोक्ता समितिहरूमा संकलित रकम व्यक्तिगत लाभका लागि प्रयोग गरेको ठहर गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार