सर्लाही – मधेश प्रदेशका नयाँ मुख्यमन्त्री जितेन्द्र सोनलले आफ्नो नियुक्तिपछि पदलाई जिम्मेवारीका रूपमा लिने बताएका छन्।
पद तथा गोपनियताको शपथ लिएपछि बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सोनलले भने, “मुख्यमन्त्री बन्ने मेरो उद्देश्य ‘इन्जोय’ गर्नु होइन, काम गरेर देखाउनु हो। मन्त्री हुँदा दैनिक १६–१७ घण्टा काम गर्थें, अब त्यसभन्दा बढी काम गरेर प्रदेशमा परिणाम देखाउने छु।”

सोनलले संविधानले दिएको अधिकारको संरक्षण, संस्थागत विकास र आर्थिक समृद्धिको दिशा तय गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताए। उनले प्रदेशलाई विकास र सुशासनको गतिमा अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे।
जसपा नेपालसहितका गठबन्धन दलहरूलाई समेट्दै छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको मुख्यमन्त्री सोनलले जानकारी दिए। उनले स्पष्ट बहुमतका आधारमा सानो तर प्रभावकारी सरकार गठन गर्ने उल्लेख गरे। शपथपछि सोनलले आजैदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।





