जनमत पार्टी विभाजन: नयाँ दल दर्ता रोक्न सीके राउत सर्वोच्च पुगे

२०८२ आश्विन ३०, बिहीबार १७:५४
file image

सर्लाही – जनमत पार्टी भित्र विभाजन भएपछि पार्टी अध्यक्ष सीके राउत सर्वोच्च अदालत पुगेका छन्।

उनले बिहीबार अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। उक्त रिटको पहिलो सुनुवाइ शुक्रबारका लागि तोकिएको छ। राउतले निर्वाचन आयोगलाई समेत विपक्षी बनाउँदै, विभाजनपछि बनेको समूहलाई अलग दलका रूपमा दर्ता गर्ने प्रक्रिया रोक्न माग गरेका छन्।

उनले रिटमा जनमत पार्टी विभाजनका लागि कानुनी आधार नदेखिएको दाबी गर्दै, आयोगले नयाँ दल दर्ता अघि बढाउन नपाओस् भनेर अन्तरिम आदेश माग गरेका छन्।

गत आइतबार जनमत पार्टीका उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब ५२ जना केन्द्रीय कार्यकारिणी सदस्यले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।

करिब २० प्रतिशत कार्यकारिणी सदस्यको समर्थन रहेको उक्त समूहले जनस्वराज पार्टी नाममा दर्ता प्रक्रिया अघि बढाएको छ। तर आयोगले सनाखत प्रक्रिया भने अझै पूरा गरेको छैन।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार