सर्लाही – जेन–जी आन्दोलनका क्रममा गम्भीर रूपमा घाइते भएका सर्लाहीका युवा उदय प्रकाश साह शनिबार आफ्नो गृह जिल्ला फर्कँदै छन्। सर्लाहीको चन्द्रनगर गाउँपालिका – २ बबरगंज निवासी साहको स्वागतका लागि जिल्लाभरका युवाहरु उत्साहपूर्वक तयारीमा जुटेका छन्।
गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन–जी आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर उदय प्रकाश गम्भीर घाइते भएका थिए। तत्कालै उनलाई उपचारका लागि ट्रमा सेन्टर हुँदै वीर अस्पताल भर्ना गरिएको थियो। लामो उपचारपछि स्वास्थ्य सुधार हुँदै गएपछि अब उनी सर्लाही फर्किन लागेका हुन्।

जिल्लाका युवाहरुले संयुक्त रूपमा स्वागत कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन्। ईश्वरपुरस्थित फुलजोरमा शनिबार दिउँसो १२ बजे फूलमालासहित उनको भव्य स्वागत गरिने कार्यक्रम तय गरिएको छ।
“उदय प्रकाश हाम्रा गौरव हुन्। उनी जनताको आवाजको प्रतीक हुन्,” जेन–जी सर्लाहीका युवाहरुले बताएका छन्, “हामी उहाँको साहस र योगदानलाई सम्मान गर्दै स्वागत गर्नेछौं।” उदय प्रकाशले आफ्नो समर्थन र माया देखाउने सबैप्रति आभार प्रकट गरेका छन्। उनका अनुसार, “यो मेरो व्यक्तिगत जित होइन, यो सम्पूर्ण युवाको आवाजको जित हो।”
उनले थपे, “अब म सर्लाही फर्किएर नयाँ ऊर्जासाथ जन–जी आन्दोलनको भावना फैलाउनेछु। भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्दै युवाको सोच र विचारले देशमा परिवर्तन ल्याउने लक्ष्य लिएको छु।” उनको आगमनलाई जेन–जी आन्दोलनका समर्थकहरूले नयाँ ऊर्जा, प्रेरणा र संघर्षको निरन्तरताको प्रतीकका रूपमा लिएका छन्।





