तिहार सुरु, आज धनतेरस पर्व मनाइँदै

२०८२ कार्तिक १, शनिबार ०८:०१

सर्लाही – उज्यालोको पर्वका रूपमा मनाइने यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा प्रारम्भ भएको छ। प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म चल्ने यो पर्व आज दिउँसो १ः२३ बजेदेखि सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

दिउँसो त्रयोदशी तिथि लाग्ने भएकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाइँदैछ। समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार आजदेखि यमदीपदान पनि सुरु हुन्छ। त्यस्तै काग तिहार आइतबार पर्न गएको बताइएको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार त्रयोदशी तिथिमा बेलुकी यमदीपदान र बिहान त्रयोदशी परेमा काग तिहार मनाउने शास्त्रीय परम्परा छ।

यमपञ्चकका अवसरमा दीपदान गर्दा यमलोकको पीडा बाट मुक्ति पाइने धार्मिक विश्वास छ। यसै क्रममा धनवन्तरी जयन्ती पनि आइतबारकै दिन परेको छ। तिथिको तालमेल अनुसार सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एउटै दिन मनाइनेछ। प्रा. तोयराज नेपालका अनुसार परिवारका सदस्य सङ्ख्याका आधारमा यमदीपदान दक्षिणतर्फ फर्की गरेर गर्नुपर्ने नियम छ।

यो क्रम भाइटीकासम्म अर्थात् कात्तिक शुक्ल द्वितीया तिथि भएसम्म चल्नेछ। समितिका अध्यक्ष ढकालका अनुसार सोमबार बिहान अरुणोदय कालमा नरक स्नान गरी कुकुर तिहार मनाइनेछ भने बेलुकी लक्ष्मीपूजा गरिनेछ। बिहान स्नान गरी बत्ती बालेर नदीमा प्रवाह गर्नाले नरक यातना सहनु नपर्ने विश्वास छ।

यस वर्ष ३ कात्तिकको दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी लाग्ने भएकाले त्यसै दिन लक्ष्मीपूजा गर्नुपर्ने भएको हो। रातमा औँसी तिथि पर्ने भएकाले लक्ष्मीपूजा सोही समयमा गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको समितिको भनाइ छ। ५ कात्तिकमा गाई, गोरु र गोवर्द्धन पूजा साथै आत्म (म्ह) पूजा तथा नेपाल संवत् ११४६ को सुरुवात हुनेछ। यस दिन हलि तिहार र बलीपूजासमेत मनाइनेछ।

भाइटीका यस वर्ष ६ कात्तिक, बिहीबार परेको छ। समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार भाइटीकाको शुभ साइत बिहान ११ः३९ बजेका लागि निर्धारण गरिएको छ। भाइटीकाको क्रममा दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्केर बस्ने परम्परा रहेको बताइन्छ।

सर्वसाधारणका लागि मध्याह्नमा टीका लगाउनु शास्त्रसम्मत हुने समितिको भनाइ छ भने राज्यका प्रमुखहरूले साइतमै टीका लगाउने परम्परा रहँदै आएको छ। यसैबीच, तिहार नजिकिँदै गर्दा राजधानीसहित देशभरका सहरहरू उज्यालोले झकिझकाउ बनेका छन्। घर, पसल र गल्लीमा झिलिमिली बत्तीहरू टाँगिँदा वातावरण नै उत्सवमय बनेको छ।

कोजाग्रत पूर्णिमादेखि नै दीपावलीको क्रम सुरु गर्ने चलन बढ्दै गएको छ भने बडादसैँमा सुनसान देखिने काठमाडौं उपत्यका तिहारमा झिलिमिली बत्तीले जीवन्त देखिन्छ। लक्ष्मीपूजाको रातमा भैलो खेलिन्छ भने गोवर्द्धन पूजाको दिन देउसीको रौनक हुन्छ।

कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा कोजाग्रत पूर्णिमादेखि नै देउसी–भैलो सुरु गर्ने परम्परा रहेको छ। यस्तै कौडा, तास, लङ्गुरबुर्जा जस्ता परम्परागत खेलहरू पनि तिहारमा रमाइलोका माध्यम बन्छन्। नेपाल प्रहरीले भने यस वर्ष पनि पटाका नपड्काई सभ्य र सुरक्षित रूपमा पर्व मनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार